इनास ग्लोवलको अनलाइन गायन तथा नृत्य प्रतियोगितामा दुई लामा बिजयी

-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले बिश्वब्यापी रुपमा भर्चुल माध्यमबाट आयोजना गरेको ‘इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ अर्थात् “INAS Global Online Singing and Dancing Competition 2020” को बिजेता छानिएका छन्।

नृत्य तर्फ नेपालका पूर्ण लामा बिजेता बनेका छन् भने नेपालबाट नै सहभागी प्रतियोगी शेखर घर्तिमगर फर्स्ट रनरअप र रबिता मगर सेकेन्ड रनरअप बनेकी छिन्। त्यसैगरी गायन विधा तर्फ डेनमार्क बाट सहभागी भएका राजेश लामा बिजेता बनेका छन् भने नेपालबाट सहभागी शान्ति राई फर्स्ट रनरअप र चेक रिपब्लिकका डा. विजय गुरुङ सेकेन्ड रनरअप बन्न सफल भएका छन्।

कोरोनाको महामारीबाट आक्रान्त भएका बेला नव प्रतिभा कलाकारहरुलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसर तथा मंच प्रदान गर्न इनास ग्लोवलले भर्चुल रुपमा प्रतियोगिताको आयोजना गरेको थियो।

अडिसन राउण्ड पार गरि क्वाटरफाइनलका लागि विश्वभरीबाट नृत्य तर्फ ६९ जना प्रतियोगीहरु सहभागी भएका थिए भने गायन विधातर्फ १२१ जना प्रतियोगिहरुले आफ्नो प्रस्तुति दिएका थिए । जुनको १९ तारिख बाट क्वार्टर फाइनलका लागि इनास ग्लोवलले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रत्येक दिन प्रतियोगीहरुका भिडियो पोस्ट गर्दै आइरहेको थियो।

क्वार्टरफाइनल राउण्डमा गायन विधा तर्फ १२१ जना र नृत्य तर्फ ६९ जना प्रतियोगीले आफ्नो प्रस्तुति दिएका थिए जस मध्य दुवै विधाबाट ५० – ५० जना प्रतियोगीहरु सेमिफाइनल राउण्डका लागि छानिएका थिए भने फाइनलका लागि दुवै विधामा टप १० छानिएका थिए।

कोरोनाको महामारीका कारण इनासले युरोप महादेशमा बर्सेनि गर्दै आएको गायन तथा नृत्य प्रतियोगिता यसै बर्ष अप्रिल ३ र ४ मा जर्मनीको म्युनिखमा तयारी पुरा भै सके पछि स्थगित गर्नु परेको थियो भने अन्य बिभिन्न देश तथा महादेशमा पनि इनासका सम्पूर्ण गतिविधिहरु रोकिएका थिए।

यसै बीच इनासले भर्चुल माध्यमबाट भए पनि बिभिन्न गतिविधिहरुको संचालन गर्दै सक्रियता जनाउने योजना अनुरुप यस “इनास बिश्वब्यापी अनलाईन गायन तथा नृत्य प्रतियोगिता २०२०’ को आयोजना गरेको थियो। इनास ग्लोवलले यस सन्त्रासको घडीमा हामीले संगीत गायन र नृत्यको माध्यमद्वारा आफ्नो आत्म-बल उच्च राख्न, मन र शरिरलाई स्वास्थ्य र स्फुर्त बनाउन, नेपाली कला संस्कृतिको संरक्षण, संवर्द्धन, कलाकारहरुलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्नका लागि समेत यस कार्यक्रमको आयोजना गरेको बताउंदै आएको थियो। शुरुमा युरोप महादेशमा मात्र आयोजना गर्ने भनिएको कार्यक्रमलाई अझै बिस्तार गरौँ भन्ने सोचले बिश्वब्यापी रुपमा नै गरिएको समेत इनासले जनाएको थियो।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले आयोजना गरेको “INAS Global Online Singing and Dancing Star 2020” प्रतियोगितामा मुल्यांकनका लागि इनासको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएका भिडियोहरु पोस्ट भएको मिति र समय देखि ७ दिन सम्म राखेर ७ दिन सम्मको फेसबुक like संख्या गणना गरिएको थियो । त्यसै गरि भिडियो फेसबुकमा पोस्ट गरे पछि प्राप्तहुने लाइक संख्या र दक्ष तथा अनुभवी निर्णायक मण्डलद्वारा दिएको नम्बर जोड गर्दा हुन आउने कुल अंकमध्य सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रतियोगीलाई बिजेता घोषणा गरिने ब्यबस्था बमोजिम नै बिजेता घोषणा गरिएको हो।

नृत्य तथा गायन विधामा प्रतियोगीहरुलाई मुल्यांकन गर्न का लागि बिभिन्न चरणमा गरेर गायन तथा नृत्य विधामा दख्खल राख्ने ख्याती प्राप्त निर्णायक मण्डलहरु गायन तर्फ मिरा राणा (नेपाल), मधु छेत्री (अमेरिका) ,शर्मिला बर्देवा (बेलायत), प्रदीप बम्जन (नेपाल), सिन्धु मल्ल (नेपाल), सुवास सुन्दास (स्विट्जरल्याण्ड) र नृत्य तर्फ राजु शाह (नेपाल), कविराज गहतराज (नेपाल), नविन केसी (अमेरिका), रामजी लामिछाने (नेपाल), पवित्रा आचार्य (नेपाल), जगत खड्का (फ्रान्स) र सरिता हुमागाई (नेदरल्याण्डस) रहेका थिए।

बिजेता तथा उपविजेतालाई  प्रदान गरिने पुरष्कारहरु

प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक सदभावना दूत नियुक्त गरिनुका साथै (INAS Global Online Singing or Dancing Star 2020) को उपाधि सहित नेपाली रुपैया नगद ५१,००० तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।  

त्यसैगरी दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई  (INAS Global Online Singing or  Dancing Star 2020, 1st runner up) र 2nd runner up) को उपाधि सहित क्रमश: नेपाली रुपैया  नगद  २५,०००  र   १५,०००  तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ भने चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्न पहल गर्नेछ। 

विजेता कलाकारहरुले प्राप्त गर्ने नगद रकम र डिजिटल प्रमाण पत्र यो नतिजा प्रकाशित भएको दश दिनभित्र उपलब्ध गराइने र ओरिजनल प्रमाणपत्र तथा ट्रफि भने एक कार्यक्रमका बीच प्रदान गरिने इनासले प्रकाशित गरेको बिज्ञप्तिमा जनाएको छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top